काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ। उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको हो ।
एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ। संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार राति राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बसेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उच्चस्तरीय छानबिन समिति बनाउन सहमति भएको जानकारी दिए। सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोध अन्त्य गर्न सबै विकल्प र सम्भावनामा छलफल भएको जानकारी दिए।