काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ । कोभिड १९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ । थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाइ एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने भएको छ । अब थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ ।
सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । थाइ एयरवेज इन्टरनेसनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आउनु सुखदः भएको बताए ।
थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाइ एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्यालाई सहज हुने उनले बताए । अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुने उनको भनाइ छ ।
आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाइ एयरवेज इन्टरनेसनलको नेपालका लागि जीएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित भएको बताए ।