काठमाडौं । आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो ।
आव २०७९–८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७९–८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।
साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् । पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
साउनमा नेपाली धेरै संख्यामा पुगेको मुलुक यूएई हो । गत वर्षभरमा मलेसियामा धेरै नेपाली गएका थिए । साउनमा भने यूएईमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ । कतारमा साउनमा १० हजार ५६१ जना विदेशिएका छन् । साउदी अरेबियमा १० हजार ३० जना गएका छन् ।
मलेसियामा भने ९ हजार २६८ जना गएको तथ्याङ्क छ । कुवेतमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् । २०७९ साल साउनमा मलेसियामा मात्र २४ हजार ४८४ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा कतार थियो । जसमा १२ हजार ५६८ जना पुगेका थिए । यो वर्ष भने मलेसिया जाने कामदारको संख्या केही खस्किएको छ ।