काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले बेलायती सेनामा भर्ना भएका र सेवा निवृत्त भएका नेपालीहरुको नागरिकता कायम हुनुपर्ने माग गरेको छ । आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नेपाली नागरिकताले निरन्तरता नपाए बेलायतमा बस्दै आएका बहालवाला र पूर्व बेलायती सैनिक बेलायत नै पलायन हुने बताए । संयोजक सुनबहादुर तामाङले गोर्खालीहरु अपराधी हो भन्ने प्रश्न गर्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने धारणा राखे ।
‘हामी र ब्रिटिश गोर्खाका सन्ततिहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौं । आज आठ वर्ष भएको तर, खासै केही भएन । ब्रिटिश गोरखाहरुको पेन्सनमात्रै बर्षेनी २० देखि २२ अर्ब नेपालमा प्रवेश गर्छ । यदि गोरखालीहरुलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ’, उनले भने ।
ब्रिटिश गोर्खाको नागरिकताले निरन्तरता नपाए गोर्खाहरुको चल अचल सम्पत्ति पूूर्ण रुपमा पलायन हुने र नेपाललाई ठूलो क्षति हुने तामाङले बताए । ‘बेलायत सुरक्षित र समृद्ध हुनुमा गोर्खालीहरुको ठूलो भूमिका छ । यसको लागि गोर्खाहरुले ज्यान दिए सबै चिज दिए । गोर्खालीहरु बेलायतमा बस्न पाउनुपर्छ, यो अंग्रेजको मात्र देश होइन । गोरखालीहरुको पनि देश हो’, उनले भने ।