‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको भन्दै मन्त्री साउदको ध्यानाकर्षण गराए ।


परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक तथा अन्य सवारी साधनको आवतजावतलाई सहज बनाइनुपर्ने सुझाव दिएको छ । सो क्रममा मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने आश्वासन दिए । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।