इराकमा २०१६ को बम काण्डका दोषिलाई फाँसी, जहाँ मारिएका थिए ३००

काठमाडौं । इराकले ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा भएको बम विस्फोटका दोषिलाई फाँसीको सजाय दिएको छ । तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयताको सबैभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।

इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने सार्वजनिक भने गरेको छैन । प्रधानमन्त्री कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जनाएको छ । सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई छन् । उनी २०२१ मा पक्राउ परेका हुन् ।
३ जुलाई २०१६ मा इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको एक सवारीमा विस्फोट गराइएको थियो । त्यो समयमा रमजानका लागि आफ्नो दैनिक उपवास तोडेपछि रातको समय मानिसहरु त्यहाँ जम्मा भएका थिए । बम विस्फोटपछि भवनमा आगो लागेको थियो, जसमा परेर मानिसहरुले ज्यान गुमाए । यो घटनापछि तत्कालीन आन्तरिक मामिलामन्त्री मोहम्मद गब्बनले राजीनामा दिएका थिए ।