ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे

काठमाडौं । नवलपुरमा भैँसी बोकेको ट्रक पल्टिँदा भैँसी र पाडा मरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरेका हुन्।

कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजेतिर खाल्डोमा परेर पल्टिएको नवलपुर प्रहरीले जनाएको छ।

भैँसी र पाडा लोड गरी काठमाडौं जाँदै गरेको ट्रक पल्टिएको हो। नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १७ वटा मरेका हुन्। १९ वटा भैँसी र पाडा भने जीवितै छन्। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।