झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से फेरि आज ५ अंकले नै घटेको हो ।

मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज करोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले घटेर ८६ करोडमा सीमित भएको छ । यो पछिल्लो ३ महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६३ प्रतिशतले घटेको छ ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले १० प्रतिशत कमाएका छन् ।