नेपाल बैंक र एडीबीबीच सम्झौता

काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो ।

कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७।७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड एडिबी टिएससिएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ । सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बताइएको छ ।

नेपाल बैङ्क लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैङ्कसँग यो सम्झौता हुन सम्भव भएको बैङ्कले जनाएको छ । सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे ।