काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रस्ताव गर्ने बताएका छन्।
समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चीन भ्रमणको प्रसंग निकाल्दै भने, ‘पोखरा र लुम्बिनी एयरपोर्ट तथा मुस्ताङको कोरला र गोरखाको रूइला नाका खोल्न प्रस्ताव गर्छु।’ चीन भ्रमणका एजेन्डाबारे शुक्रबार बिहान मन्त्रालयगत एजेन्डामा छलफल गरिएको उनले बताए।
उनले रसुवा नाकाबाट क्रस बोर्डर प्रशारण लाइन बनाएर चीनमा बिजुली व्यापार गर्नेबारे पनि छलफल भइरहेको जानकारी गराएका थिए। किमाथाङ्का नाकाबाट पनि प्रशारण लाइनको सम्भाव्यता अध्ययन गर्ने भन्दै उनले यसमा चीनको पनि चासो रहेको बताएका थिए।
चीनले नेपालको कृषिमा चासो राखेको उनको भनाइ छ। नेपालबाट चीनमा घाँस र मासुको व्यापार गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ। ‘चीनले नेपालबाट सुकेको घाँस ठूलो मात्रामा लान चाहन्छ, तिब्बतमा राँगाको मासुको माग रहेछ,’ उनले भने, ‘खोरेत नियन्त्रण गर्यौं भने खर्बौंको मासु बेच्न सकिन्छ।’