काठमाडौं । नेपालले क्रिकेट खेल्न थालेको इतिहासमै पहिलो पटक छिमेकी मुलुक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक अवसर जुरेको छ । भारतको सिनियर टिमसँग अहिलेसम्म नेपालको भेट हुन सकेको छैन ।
भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भन्दा लामो समय भइसकेको छ । एसोसिएट टिम नेपालको यात्रा भने धेरै लामो छैन । नेपालले भारतका यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको भएपनि सिनियर टोलीसँग भने एसिया कपमा भेट हुन लागेको हो। खेल आज हुँदैछ
एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउने भएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।
नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।
समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर(फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।