काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । गत साता बसेको भारतको मन्त्रिपरिषद्ले बैठकले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको पुष्टि गरेका छन् । उनले मंगल बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फ यस्तो जानकारी दिएका हुन् ।
आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्न भारतको मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । यसले नेपालको विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्न बाटो खुलेको छ,’ उनले लेखेका छन् ।
यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ । भारतको मन्त्रिपरिषद्ले दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाललाई भारत विद्युत् निर्यातमा सजिलो हुनेछ ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका बेला सो सम्झौतामा हस्ताक्षर गर्ने भनिए पनि भारतले आवश्यक तयारी नपुगेको भनेपछि सम्झौता हुन सकेको थिएन । प्रचण्ड भ्रमण सकेर फर्किएको ३ महिनापछि अहिले भारतले दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।