काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले यो विषय नेपालीहरूका लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे ।
उनले गोरखालीहरूले ब्रिटिश राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यसबारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।
प्रचण्डले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे ।
उनले भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले गोरखा सैनिकको समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण ढङ्गले अभिभावकत्व प्रदान गर्ने विश्वास व्यक्त गरे ।