मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

REUTERS\BBC

काठमाडौं । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ। उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन्। आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ। घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ। मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेको बीबीसीले जनाएको छ ।


गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ। त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ। राष्ट्रिय टेलिभिजनमार्फत् सरकारद्वारा जारी विवरणलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन। नीजेर नदीमा बहँदै गाओबाट मोप्ती सहरतर्फ जान लागेको डुङ्गामा आक्रमण भएको बताइएको छ।

गाओ क्षेत्रकै बोरेम सर्कलमा रहेको सैन्य शिविरमा पनि आक्रमण भएको छ। ग्रेनिच मीन टाइम (जीएमटी) सँग ठ्याक्कै मिल्ने स्थानीय समयानुसार बिहीवार बिहान ११ बजे सशस्त्र आतङ्ककारी समूहूले डुङ्गामा आक्रमण गरेको मालीको सेनाले सामाजिक सञ्जालमा लेखेको छ।


कम्तीमा तीनवटा रकेटले डुङ्गाको इन्जिनलाई लक्ष्य बनाएर आक्रमण गरेको डुङ्गा सञ्चालक कम्पनी कमन्याभले एएफपी समाचारसंस्थालाई बताएको छ। त्यसपछि उक्त डुङ्गालाई नदीमै रोकी सेनाले यात्रुहरूलाई बाहिर निकालेको कमन्याभका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। तत्कालिक राष्ट्रपति इब्राहिम बुबाकर केइटाविरुद्ध विरोध प्रदर्शनपछि सेनाले सत्ता कब्जा गर्दा यसले विशाल जनसमर्थन पाएको थियो। त्यतिबेला मानिसहरू आर्थिक अस्थिरता, विवादास्पद निर्वाचन र निरन्तरको असुरक्षाबाट असन्तुष्ट थिए।

तर त्यसपछि मालीको सैन्य सरकारले देशका विभिन्न भागको नियन्त्रण गर्ने इस्लामवादी समूहहरूसँगको लडाइँमा खासै प्रगति गर्न नसकेको तथ्याङ्कहरूमा देखिएको छ। सन् २०१२ देखि उत्तरी मालीमा अल-कायदा र इस्लामिक स्टेटसँग सम्बद्ध समूहहरूले सत्ता कब्जाको उद्देश्यले हिंसात्मक गतिविधिहरू गरिरहेका छन्।