काठमाडौं । भुटानको पारो विमानस्थलबाट पहिलो पटक पोखरामा जहाज अवतरण गरेको छ । शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरण गरेको हो । १५० सिट क्षमताको जहाजले ३ जना यात्रु लिएर पोखरामा अवतरण गरेको थियो ।
पोखरा अवतरण भएको ड्रुक एयरको विमानले पोखराबाट भने ४२ जना यात्रु लिएर भुटान उडेको थियो । भुटानबाट चार्टर उडानका रुपमा जहाज पोखरा आएको हो । भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो। यसअघि यो विमानस्थलमा चीनबाट चार्टर्ड उडान भएको थियो ।