काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।
देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका हुन्।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए।
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघीय महासभाका लागि मंगलबार नै न्युयोर्क प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री प्रचण्डले नेतृत्व गर्ने २७ जनाको टोलीमा यसअघि प्रमुख सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदाश बैरागी, मुख्यसचिव बैकुन्ठ अर्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, नीजि चिकित्सक डा. युवराज शर्मासहित चार जना सहसचिव पनि थिए।
यीमध्ये अधिकांश नाम कटाएर अब एकजना स्वकीय सचिव र २ जना सुरक्षाकर्मी सहित ५ जनाको टोली मात्रै प्रधानमन्त्रीसँग न्युयोर्क जाने भएको छ।