शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन

काठमाडौं । नेपाली राजनीतिका शालिन नेता तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आकस्मिक निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । इलाममा जन्मिएका नेम्वाङले २०२९ सालबाट कम्युनिस्ट राजनीति थालेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए । उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।