काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ । सोही दिन सरकारले शोक बिदा समेत दिएको छ । उनको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो । आज राती पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहने भएका छन् । मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।
अष्ट्रेलिया भ्रमणमा रहेका उनका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा छन् । उनी भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।