रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
न्यायाधीश दीपक ढकालको इजलासले आलम आरोप अस्वीकार गरेपनि प्राप्त प्रमाणका आधारमा उनी निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको छ ।
कसुरको प्रकृति, गम्भीरता र बादीको साक्षी प्रमाणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै अदालतले आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेश गरेको हो ।
अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार रौतहट चलान गरिएको छ । यद्दपी अदालतले सुरक्षाको कारण देखाउँदै जिल्ला कारागार रौतहटमा भने नराख्न सुझाव दिएको छ ।
साक्षी बकपत्र र मुद्दाको पूर्पक्षको समयमा अदालतमा अनिवार्य उपस्थित गराउने शर्तमा उपयुक्त कारागारमा स्थानान्तरण गर्न अदालतले अनुमति समेत दिएको छ ।
अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गृहमा राखेर संरक्षण गर्न समेत आदेश दिएको छ ।
खासगरी आलमका मान्छेले जाहेरी दिने मानिसहरुलाई हपरहण गर्ने, धाक धम्की र प्रलोभनमा पारी अदालती प्रक्रियालाई प्रभावित पार्न खाजेका थिए ।
रौतहट बम विस्फोटका घाइते गौरीशंकर दास चमारलाई आलमका मान्छेले अपहरण गरी चार दिनसम्म बन्धक बनाएर बयान फेर्न लगाएको भिडियो सार्वजनिक भएको थियो । चमारले सुरक्षा माग गर्दै निवेदन दिएका छन् ।
संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४मा राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिँउदै जलाएर मारेको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको हो ।
आलम पूपक्षका लागि जेल चलान भएसगै उनको सांसद पदसमेत निलम्बनमा परेको छ ।