म्यानचेस्टर
न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए ।

अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट देखि क्लेरमोन्टसम्मका दिदी बहिनीहरुले उत्साहजनक सहभागिता जनाइदिनुभयो, गुरुङले भनिन्- बर्षमा कम्तिमा एक दिन राज्य भरका दिदीबहिनी भेला भएर खुसी साटासाट गर्न पाउँदा आनन्द लागेको छ ।’

समाजका अध्यक्ष लाक्पा शेर्पाले न्यूह्यामसायरबासी नेपालीको हार्दिकता र भाइचाराको उपजस्वरुप तीज उत्सव जस्ता कार्यक्रम सहजता पुर्वक आयोजना गर्न सकिएको बताए । उत्सवमा सहभागि दिदीबहिनीको उत्साहले आफुहरुलाई आगामी दिनमा पनि कार्यक्रम निरन्तरता दिन उर्जा मिलेको उनले बताए ।

कार्यक्रममा नृत्य लगायतका प्रस्तुती देखाइएका थिए । त्यसपछि दिदीबहिनीहरुले डिजे संगीतमा खुलेर नाचगान गरेका थिए भने अन्त्यमा सामुहिक रुपले केक काटेर तीजको खुसियाली मनाइएको थियो ।











