सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमति भएको छ ।

सरकारले पेश गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न लगायतको विषयमा सहमति जुटेको छ ।