एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी

काठमाडौं । चीनको हाङ्झाउमा १९ औं एसियाली खेलको भव्य उद्घाटन गरिएको छ । शनिबार हाङझाउ ओलम्पिक रंगशालामा चिनियाँ राष्ट्रपति सी चिन फिनले उद्‌घाटन गरे । समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रुपमा सहभागी बने । दुई घन्टासम्म चलेको उद्‌घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोके ।

४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो। त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू गरिएको थियो । औपचारिक उद्घाटनपछि भएको सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्यो। जहाँ चीनको सांस्कृतिक सम्पदा, पूर्वी सौन्दर्य र आधुनिक प्रविधिको शक्तिलाई लाइटिङको अनुपम संयोजनमार्फत देखाइएको थियो । क्विनताङ नदीको किनारमा रहेको बिग लोटस लाई सेटमा उतारिएको थियो।


नांगो आँखाका लागि थ्रिडी स्टेज प्रयोग गरिँदा रंगशालाको स्टेज भव्य देखिन्थ्यो। जहाँ नदी र पुल समेत लाइटिङमार्फत देखाइएको थियो। चीनको राष्ट्रिय झन्डा फहराउनुअघि एक गायकले म तिमीलाई माया गर्छु चाइनाु बोलको गीत गाए । एसियाली खेलकुदका लागि पहिलो पटक एसियाली खेलकुदको टर्च डिजिटल र रियल टाइम दुवैमा प्रज्वलित गरिएको थियो।

एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्। ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। २९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक–एक पदक मात्र जित्न सकेको छ।