गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले अब कार्यालय सुरु हुनु भन्दा अगाडी अब १५ मिनेट योगा गर्नु पर्ने भएको छ । बुधबार आफ्ना कर्मचारीलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न गृहले परिपत्र गरेको हो । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ । यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ ।

शनिबार सशस्त्र प्रहरी बलको हलमा राष्ट्रपति, प्रधानन्यायाधीश समेतलाई उपस्थित गराएर एकदिवसीय ध्यान विज्ञान शिविर गरिएको थियो । त्यसकोे चार दिनपछि मन्त्रालयले महाशाखाहरुमा कार्यरत अधिकृत स्तरका कर्मचारीले विहान १०ः०० देखि १०ः१५ बजेसम्म १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्र गरेको हो ।

मन्त्रालयका अनुसार मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका कर्मचारीहरु शनिबार एकदिवशीय ध्यान विज्ञान कार्यक्रममा सहभागी भइसकेका छन् । अब अरु कार्यालयका कर्मचारीलाई पनि ध्यान विज्ञान कार्यक्रम राख्ने र त्यसपछि मन्त्रालयमा जस्तै १५ मिनेट योग अभ्यास गराउने तयारी छ ।