काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले लेखेको छ । क्यानडाले उक्त घटनामा भारतीय राज्यको संलग्नताबारेका ूविश्वासिला आरोपूको आफूले अध्ययन गरिरहेको बताएपछि दुई देशबीचको तनाव चर्किएको छ।
भारतले उक्त दाबीलाई उदेकलाग्दो भन्दै खारेज गरेको थियो। भारत सरकारले क्यानडालाई जुनसुकै सान्दर्भिक आरोपबारे अनुसन्धान गर्न आफूहरू खुला रहेको भनेको जयशङ्करले बताए। तर उनले उक्त हत्या प्रकरणमा भारतको भूमिका नरहेकोमा जोड दिए। मङ्गलवार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै जयशङ्करले भने, पहिलो, हामीले क्यानडेलीहरूलाई यस्तो गैरन्यायिक हत्यो भारत सरकारको नीति नरहेको भनेका छौँ।
ूदोस्रो, त्यसो भनिरहेका क्यानडेलीहरूलाई उनीहरूसँग केही निश्चित, केही सान्दर्भिक जानकारीहरू छन् भने त्यसबारे हामीलाई पनि जानकारी दिनुहोस्( हामी त्यसबारेमा सोधखोज गर्नका लागि तयार छौँ । हरदीप सिंह निज्जरको गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर गोली हानी हत्या भएको थियो। भारतले यसअघि उनलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।
भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ। भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो। जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ। तर सिखहरूको उल्लेख्य बसोबास रहेका क्यानडा, अस्ट्रेलिया र यूकेजस्ता देशमा त्यो अझै चर्चित छ। यसैबीच जयशङ्करले क्यानडालाई भारतले देशबाहिर रहेर काम गर्ने पृथकतावादी सङ्गठित अपराध र नेतृत्वबारे कैयौँ सूचना दिएको जनाएका छन्।