सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

काठमाडौं । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक–दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ । अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुई–तीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको बताइएको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो। आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालका यसपालि गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो।