सूक्ष्म कालखण्ड पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भए भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार

bbc

काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन्। ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए हुन्। नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो। विजेताहरूले संयुक्त रूपमा एक करोड स्वीडिश क्रोनर (आठ लाख अमेरिकी डलर) पाउने छन्।

यसअघि सोमवार नोबेल पुरस्कार समितिले चिकित्साशास्त्रतर्फ कोभिड(१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने दुई वैज्ञानिकलाई सम्मानित गर्ने घोषणा गरेको थियो। उनीहरू वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्। कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो।

तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ। गत वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले हात पारेका थिए।