आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

काठमाडौं । आजबाट मौसममा सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अब लगातार झरी पर्नेछैन । मनसुन बहिर्गमनमा ढिलाइ भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको छ । नेपालमा अहिले भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।

आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने बताइएको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै मौसममा सुधार आएको छ । उपत्यकामा दिउँसो ‍छिटफुट वर्षाको सम्भावना छ तर हिजो अस्तिजस्तो ठूलो पानी नपर्ने महाशाखाको अनुमान छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाको प्रक्षेपण छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।