न्युयोर्क
झन्डै तीन हप्ता लामो पारिवारिक र राजनैतिक भ्रमणका क्रममा अमेरिका आइपुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा साँसद प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट अधिनायकबादको उदय हुने पो हो कि ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै पिता लौह पुरुष गणेश मान सिंहको बायोपिक चलचित्र “वीर गणेशमान” प्रदर्शनी कार्यक्रममा ब्यस्त भएका नेता सिंहले विश्व सन्देश साप्ताहिक र विश्व न्युजसँगको छोटो भेटमा देशको अवस्था बारे चिन्ता ब्यक्त गरेका हुन् ।
नेता सिंहले भने “त्यती धेरै मेहनत गरेर मुलुकको संबिधान बनाईयो । संबिधानलाई संस्थागत गर्न र संघियता लोकतन्त्र र समाबेसिताको भावनाहरुप्रति दुई तिहाई बहुमतको सरकारको ध्यान केन्द्रित हुनु पर्ने थियो । कानूनहरु निर्माण गरेर सिंहदरबारको अधिकार गाँउ-गाउँसम्म पुर्याएर जनताका सम्बृद्धीका लागि सरकार गम्भिर हुनु पर्दथ्यो तर अहिले त अधिकार गाउँमा पुर्याउने त होईन उल्टै गाँउ पुगेको अधिकार समेत प्रधानमन्त्रीले लुड्याएर एक दलिय कम्युनिष्ट राज्य निर्माण गर्न पो खोजेको हो कि जस्तो अवस्था देखिएकोले चिन्तित बनाएको छ ।”
अमेरिका भ्रमणमा आउने अधिकांश नेताहरु अमेरिकी राष्ट्रपति निवास ह्वाईट हाऊस बाहिरै घुमेर फर्किने परम्परालाई तोड्दै यस पल्ट नेता सिंहले भित्रै अवलोकन गर्ने अग्रिम ब्यबस्थापन गरेर ह्वाईट हाऊस अवलोकन गरेका उनले नेपालको बर्तमान सरकारको थप आलोचना गर्दै भने “२१ औं शताब्दीमा पनि बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई खोजी तथा कारबाही गर्नका लागि राज्यलाई घच्घच्याउनु पर्ने अनि उल्टै अपराधीलाई कारबाही गर सरकार भन्दै आन्दोलन गर्न वाध्य हुनु पर्ने दिन आएको बताए । तिन हप्ताको अमेरिका भ्रमणको क्रममा नेता सिंहले नेपाली मुलका किरण सिटौला उप-मेयर रहेको मेरिल्याण्ड राज्यस्थित “ईन्डियन हेड टाऊन” पुगी उप-मेयर सिटौलासँग अमेरिकी बिकास शिक्षा स्वास्थ र अमेरिकी प्रशासनको कार्यशैली लगायतका बिबिध बिषयमा निक्कै रुचीपूर्वक जानकारी समेत लिएका थिए । सिंहले डि सि मेरिल्याण्ड भ्रमणका क्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीसँग पनि लन्च मिटिङ गरेका थिए ।
फितलो र जनताप्रति उत्तरदायी हुन नसकेको सरकारको कार्यशैलीप्रति किन जिम्मेवार प्रतिपक्ष नेपाली कांग्रेस सशक्त हुने नसकेको त ? भन्ने प्रश्नमा उनले भने “हामीले संसदीय ब्यबस्थाको मर्म र भावना अनुरुप बिधि बिधान सम्मत संसदबाट बिरोध गरेकै छौं तर संसद भित्र माईक भाँच्ने कुर्सी भाँच्ने एम्बुलेन्स तोडफोड गर्ने टायर बाल्ने सडकका रेलिङ भाँचेर बिरोध गर्ने प्रचलन भोगी सकेको हुनाले कांग्रेस निस्कृय भएको जस्तो देखिएको मात्र हो । लोकतन्त्रमा लोकतान्त्रिक पद्धती अनुसार हामीले सरकारको बिरोध गर्दै आएका छौ ।” नेपाली कांग्रेस कै प्रसँगमा नेता सिंहले थप्दै भने “देशको हरेक महत्वपूर्ण परिवर्तन कांग्रेस कै नेतृत्वमा भएको छ ।
द्वन्दको खाडलमा खसेको मुलुकमा शान्ती प्रकृयाको नेत्रित्व कांग्रेसले गर्यो । बन्न नसकेको संबिधान कांग्रेस प्रधानमन्त्रीको नेतृत्वमा बन्यो र पनि जनताले कांग्रेसलाई हराउनुमा कतै न कतै पक्कै पनि कांग्रेस नेतृत्वमा कमजोरी र त्रुटी त छ भन्ने देखिन्छ । आफुले गरेको राम्रो काम कांग्रेसले देखाउन र जनतालाई बुझाउन नसकेको कारण अहिले प्रतिपक्षमा बस्न्नु परेको छ ।”
विश्वभर बिस्तार हुँदै गएको कांग्रेस प्रवास संगठन जन संपर्क समितीका कतिपय पदाधिकारीहरु सम्बन्धित देश कै नागरिक भै सकेको अवस्थामा नेपालको नयाँ संबिधानले नेपाल भित्र राजनीति गर्न रोकेको अवस्थामा पनि छ यसलाई कसरी ब्यबस्थापन गर्नु हुन्छ त भन्ने प्रश्नमा सिंहले भने “कोही पनि ब्यक्ती वा राजनीतिक दल संबिधान भन्दा माथि हुन सक्दैन । नेपालको संबिधानले अर्को देशको नगरिकता लिएको ब्यक्तीलाई नेपालमा राजनीति गर्न नपाउने कुरा प्रष्टसँग ब्यवस्था गरी सकेको हुँदा बिदेशी नागरिकता लिएका कोही पनि ब्यक्ती नेपाली कांग्रेसको महासमिति सदस्य महाधिबेशन प्रतिनिधि वा कुनै पनि पदाधिकारी बन्न मिल्दैन । यो कानुन बिपरित हुन्छ ।” कुराकानी नै क्रममा भारतीय अतिक्रमणको खतरा देखिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा पनि नेता सिंहले टिप्पणी गर्दै भने ” भारत सरकारले जुन बिबादस्पद नक्सा प्रकाशित गरेको छ त्यसको लागि यो सरकारले कुटनितिक पहल गर्नै सकेको छैन । चुप लागेर बसेको छ । बरु सन् २०१५ मा सुशिल कोईराला प्रधानमन्त्री हुँदा लिपुलेक हुँदै भारत – चिन कारीडोर निर्माणको कुरा हुँदा नेपालको भुमीमा पर्ने लिपुलेकबाट कोरिडोर नेपाललाई माईनस गरेर कसरी निर्माण हुन्छ भनेर कुटनीतिक हिसाबले नेपालले कुरा उठाएको थियो । तर अहिले यस्तो सम्बेदनशील बिषयमा सरकार मौन छ ।”
जन संपर्क समिती न्युयोर्क च्याप्टर मेरिल्यान्ड च्याप्टर भर्जिनिया च्याप्टर टेक्ससस्थित अस्टिन च्याप्टर टेक्सस स्थित डलास च्याप्टर र नर्दन क्यालिफोर्निया च्याप्टर आदीद्वारा नेपालको बर्तमान राजनीतिक परिस्थितीको बारेमा आयोजित अन्तर्कृया तथा स्वागत कार्यक्रममा नेता सिंह सहभागि भएका थिए । साथै कतिपय राज्यमा नेता सिंह कै सहभागितामा लौह पुरुष गणेशमान सिंहको बायोपिक चलचित्र “वीर गणेशमान” समेत प्रदर्शन गरिएको थियो । नेता सिंह कांग्रेस भित्रको दोश्रो पुस्ताका नेता मध्ये निकै कम बिदेश भ्रमण गर्ने नेताको रुपमा समेत चिनिन्छन् । हाल लस एन्जलसमा रहेका सिंह २३ तारिख शनिबार न्युयोर्कबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।