काठमाडौं । जारी एसियाडमा नेपालले दोस्रो पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने ऐतिहासिक रेकर्ड बनाउनबाट चुक्दै रजतमा सिमित बनेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन् ।
एरिका सोफ्यासँग ३–० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ ।
इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् । यसअघि सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । त्यस्तै २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो । समग्रमा यो नेपालको तेस्रो रजत पदक बनेको छ ।