अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा पर्छ । प्रवक्ता मोजाहिदका अनुसार उद्धार टोली हेरात पुगेको छ । यस्तै, खाद्यान्न, पानी, औषधि र लत्ताकपडा पनि घटनास्थलतर्फ पठाइएको छ । भूकम्पले हेरात सहर नजिकका १२ गाउँमा क्षति पुर्‍याएको अनुमान गरिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको तालिबान सरकारले जनाएको छ ।