इजरायलमा अमेरिकाका ११ नागरिक मारिएको पुष्टी, अन्य कुन देशका कति ?

AP\RSS

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार हमासको आक्रमणमा परी ११ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यस्तै केही अमेरिकी हमासको नियन्त्रणमा रहेको पनि अमेरिकाले आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एक्समा लेखेका छन्, यस हप्ता हामीले इजरायलविरुद्ध भयावह आतंकवादी आक्रमण र सयौँ नागरिक हताहती भएको हिसाब दिइरहेका छौँ । दुःखको कुरा यो छ कि अहिलेसम्म ११ अमेरिकी नागरिक मारिएको हामीलाई जानकारी आएको छ ।

थाइल्यान्डका उपविदेशमन्त्री जाकापोङ साङमानीका अनुसार १८ जना थाई नागरिक हमासको आक्रमणमा मारिएका छन् । त्यस्तै ११ जना थाई नागरिक हमासको अपहरणमा परेको पनि थाई उपविदेशमन्त्री साङमानीले जानकारी दिएका छन् । इजरायलमा करिब ३० हजार थाई नागरिक कार्यरत छन् । ३ हजार थाई नागरिक स्वदेश फर्किन चाहेको थाई विदेश मन्त्रालयले जानकारी दिएको छ । ७ जना अर्जेन्टिनी नागरिक मारिएको र १५ जनाभन्दा बढी हराइरहेको अर्जेन्टिनी विदेशमन्त्री सान्टिआगो क्याफिएरोले बताएका छन् । फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना २ जना आफ्ना नागरिक मारिएको र १४ जना हराइरहेको जनाएको छ ।

जर्मन विदेश मन्त्रालयका अनुसार केही जर्मन–इजरायली नागरिक हमासको कब्जामा परेका छन् । त्यस्तै १ जना बेलायती नागरिक मारिएको र १ जना हराइरहेको बेलायतका लागि इजरायली राजदूतले जानकारी दिएका छन् । २ जना युक्रेनी महिला पनि हमासको आक्रमणमा मारिएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ । फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । फिलिपिनी विदेश मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार फिलिपिनी कार्यरत छन् । तीमध्ये अधिकांश स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगमा काम गर्दै आएका छन् ।


हमासको आक्रमणमा परी एक क्यानडेली नागरिक मारिएका छन् भने ३ जना हराइरहेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेतका अनुसार एक जना कम्बोडियाली विद्यार्थी हमासको आक्रमणमा मारिएका छन् । अस्ट्रिया र ब्राजिलका ३–३ जना, चिली, कोलम्बिया,इटाली, पाराग्वे, पेरु र तान्जानियाका २–२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १–१ नागरिक हराइरहेका छन् । हमासको आक्रमणमा परी इजरायलतर्फ ९ सयभन्दा बढीको मृत्यु भएको छ ।