नेपाल र जर्मनीबीच श्रम सम्झौता, दोस्रो यूरोपेली मुलुक बन्यो

काठमाडौं । नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच मंगलबार द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएको छ । जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । जर्मनी यूरोपको दोस्रो श्रम सम्झौता हुने मुलुक बनेको छ । यसअघि गत शुक्रवार युरोपेली देश रोमानियासँग नेपालको द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


जर्मनी सँग भएको समझदारी अनुसार जर्मनीमा श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुुला गरिएको छ ।