आज इजरायल जाने जहाजमा नेपालीको शव भने नआउने

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलले शव हस्तान्तरण गरिसकेको छैन । सोहीकारण शव नेपाल ल्याउन केही समय लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ ।

इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी दिइन् । यसपटक शव आउँदैन । ‘यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो’, प्रवक्ता लम्सालले भनिन्, इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।’


धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् । आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् ।