काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरे । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।
हरिले १३ गोलको कीर्तिमान राखेकोमा निराजनले २००८ मा यो कीर्तिमान बराबरी गरेकाथिए । त्यसको १५ वर्षपछि अञ्जनले यो कीर्तिमान बराबरी गर्न सफल भए । अब यो कीर्तिमान आफ्नो नाममा लेखाउन अन्जन एक गोलले पछाडी छन् । सन् १९८२ को एसियन गेम्समा वाईबी घलेले कुवेत विरुद्ध नेपालको लागि पहिलो आधिकारिक गोल गरेका थिए ।
त्यसयता नेपालले धेरै खेल खेलिसके पनि व्यक्तिगत सर्वाधिक गोलको संख्या भने १३ मात्र छ । अब यो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने सक्ने खेलाडीमा उनै अञ्जन देखिएका छन् । सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले २०१९ मा चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए ।