काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रको भ्रमण गरेसँगै कूटनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । यो क्षेत्र नेपालको नक्सामा समटिएको छ । तर, भारतले भने यसलाई आफ्नो भूमी ठान्दछ । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरे ।
हेलिकोप्टरबाट बिहानै कुटीको जोलिङकाङ हेलिप्याडमा उत्रिएका मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजापाठ र कैलाश मानसरोवरको दूरदर्शन गरे ।
हेलिकोप्टरबाट साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङकाङ उत्रिएका उनले त्यहीँबाट मानसरोवरको दर्शन गरेका हुन् । भारतबाट अतिक्रमित अर्को बस्ती गुञ्जीमा उनले स्थानीयसँग छलफल गरेका थिए भने कुटी, नावी, गुञ्जीका साथै भारतका रोङकाङ, नपलच्यु, गर्ब्याङ गाउँका बासिन्दासँग भेटघाट गरे ।
नेपाल र भारतका ६ वटै बस्तीका केही व्यक्तिसँग छुट्टै छलफल पनि गरेका थिए ।
मोदीले कालापानीलगायत व्यास क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बलका अधिकारीसँग छलफल गरेका थिए । भारतको अल्मोडास्थित जागेश्वर धाममा पूजा गरेर पिथौरागढमा आयोजना गरिएको जनसभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।
अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आउँदा नेपाललाई भने आधिकारिक जानकारी थिएन । दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार भारतले कर्मचारी र नेताहरूको भ्रमणबारे जानकारी दिँदैन । प्रधानमन्त्री मोदीले बिहीबार भ्रमण गरेको अतिक्रमित भूमिमा नेपालीलाई भने प्रवेश निधेष छ । उक्त क्षेत्रका भारतीय नागरिकलाई पनि प्रशासनको अनुमतिबेगर जान मिल्दैन । मोदीको भ्रमणलाई लक्षित गरी भारतीय पक्षले सीमा क्षेत्रमा झन्डै १० दिनदेखि सुरक्षा जाँच बढाएको थियो ।
भारतीय प्रशासनले साता दिनदेखि छियालेकभन्दा माथि जाने ‘बहुयात्रा’ अनुमतिपत्र दिन रोकेको थियो । ओमपर्वत र आदिकैलाश दर्शनका लागि भारतका विभिन्न ठाउँबाट दार्चुलापारिको धारचुला क्षेत्रमा पुगेर हजारौं भारतीय दर्शनार्थी रोकिएका छन् । धारचुलाबाट करिब ८० किलोमिटर उत्तरको छियालेकभन्दा माथि भारतीय प्रशासनको अनुमतिबेगर जान पाउँदैनन् ।