हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

Photo : AP

काठमाडौं । गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठ्न थालेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरायलमा आक्रमण गर्न अनुमति दिएको उल्लेख गरिएसँगै इरानमाथि प्रश्न उठ्न थालेको हो ।

आक्रमण पछाडि इरानको हात देखिएमा यसले द्वन्द्वलाई क्षेत्रीय स्तरको द्वन्द्वमा विस्तार गर्नसक्ने बीबीसीले लेखेको छ । उक्त आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरेका छन् । इरानको भूमिकाबारेका आरोपहरू। राजनीतिक कारणबाट प्रेरित छन्, इरानको विदेश मन्त्रालयले भनेको छ।

हमासका प्रवक्ता गाजी हमादले उक्त आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बीबीसीसँग बताएको बताइएको छ । इरानले प्यालेस्टाइन र जेरुसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने वाचा गरेको उनको भनाई छ ।

अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको जनाएको छ। यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि पक्कै पनि लामो सम्बन्ध रहेको दाबी गरेका छन्। तेहरान वर्षौँदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ। उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेट सहितका कैयौँ अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ।