काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विस्तृत परियोजनाको ठेक्का सम्झौता रद्द भएको छ । समग्र लागतभन्दा उच्च भएपछि एमसीए नेपालले ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जाने तयारी गरेको जनाएको छ । नयाँ ठेक्कामा जानुअघि कुन कुराले लागत उच्च भएको परीक्षण गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
एमसीसीको गाइडलाइनअनुसार लागत बढी हालेकै आधारमा नेगोसियसन गर्न नमिल्ने भएका कारण हाललाई पुनः टेन्डर प्रक्रियामा जाने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताएका छन् । परियोजनाको लागत के कारणले बढ्यो त्यसको अध्ययन गरी डिजाइन समस्या पाइएमा परिवर्तनमा जान सकिने उनको भनाई छ ।
परियोजना सकेसम्म वन क्षेत्रबाहिर बनाउने, वन बचाउन पहुँच मार्ग नबनाउने, कम जग्गा अधिग्रहण गरी ठूला टावर निर्माण गर्ने जस्ता कार्यले परियोजनाको लागत बढेको बताइएको छ । पुनः बोलपत्र आह्वान गर्नुअघि डिजाइन पनि राम्रोसँग अध्ययन गर्ने एमसीए नेपालको तयारी गरेको छ ।
एमसीसी कार्यान्वयन गर्न बनेको मिलिनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपाल आह्वान गरेको बोलकबोल (बिडिङ)मा लागत तेब्बर परेपछि गत भदौ १३ गतेबाट समयावधि सुरु भएको परियोजना अघि बढ्न सकेको छैन । ‘न्यारो बेस डिजाइन’का कारण एमसीसी परियोजनामा समस्या रहेको विज्ञहरुको भनाइ छ ।
एमसीसी परियोजना पाँच वर्षमा सक्नुपर्ने र नसकिए अमेरिकाले रकम फिर्ताको सर्त राखेको छ । एमसीसी परियोजनाको प्रसारण लाइन निर्माणको प्रस्ताव गरेको ५ भारतीय कम्पनीले प्रसारण लागतको कुल रकमभन्दा दोब्बर रकम प्रस्ताव गरेका थिए । परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको लागि २२ करोड ६ लाख अमेरिकी डलर लागत रहेको छ ।
तर, सबैभन्दा कम प्रस्ताव नै साढे ३६ करोड डलरको हाराहारीमा परेको थियो । सडक र प्रसारण लाइन गरी कुल ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) रहेको परियोजनामा अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर लागत छ । प्रसारण लाइनको लागत उच्च भएपछि सडक निर्माण ४० किमिमात्रै हुने भएको छ । यसअघि ७७ किमि सडक उच्च क्षमतामा निर्माण गरिने भनिए तापनि यसको लम्बाइ घटाएर ४० किमिमा झारिएको छ ।