काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका, च्यांग्राको बिक्रि सुरु भएको छ । उपत्यकामा हजारौंको संख्यामा खसीबोका र च्यांग्रा भित्रन्छन् । पशु सेवा विभागले स्वस्थ खसीको पहिचानका लागि सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने भएको छ । विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा पशु चिकित्सकको टोली परिचालन गरी खसी, च्यांग्रा, राँगालगायत पशुबस्तुको परीक्षण गरी रङ लगाउने भएको हो ।
चाडबाडमा लामो दूरीबाट ढुवानी हुँदा पशु बिरामी पर्ने सम्भावना रहन्छ । बाटोमा बिरामी भएको अवस्थामा रोग फैलिन सक्ने भन्दै पशु सेवा विभागले रोग फैलिन नदिन विभिन्न नाका र आसपासका बजारमा स्वास्थ्य टोली परिचालन गरेर रोगी, निरोगी पहिचान गर्ने तयारी गरेको जनाएको छ । खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागे रगतको नमुनाका आधारमा अध्ययन गरी सिङमा हरियो र रातो चिह्न लगाइने जानकार बताउँछन् ।
आवश्यक परीक्षणसँगै स्वस्थ र अस्वस्थ खसीको वर्गीकरण गरी बिक्रीका लागि अनुमति दिइने भएको छ । खसीबोकाको नाक, मुखबाट सिँगान र र्याल बगेको, पातलो दिसा बगेको, चोटपटक लागेर संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको लगायत निरीक्षण गरिने विभागले जनाएको छ । शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, आँखामा चिप्रा र राता आँखा, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गरिने छ ।