काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त विजयले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ ।
अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।
विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई–दुई खेल खेल्नेछन् । दोस्रो चरणमा नेपालको भेट यूएई, बहराइन र यमन हुनेछ । तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ ।
नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । त्यसको तयारी स्वरुप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन् ।