काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुई–दुई खेल खेल्नेछन् ।
टी–२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको छ । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी–२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट नेपाल र हङकङले टी–२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् । त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।
२०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी–२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी–२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।