काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ ।
पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।
पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।