काठमाडौं । मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् ।
साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । ‘दैनिक एक सय भन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएका छन्,’ उनले भने,‘यो वर्ष चाडो हिमपात सुरु नभए कात्तिक महिनामा अझै पर्यटक बढ्ने अनुमान छ ।’ पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।
फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मनलगायतका देशका पर्यटक बढी मनास्लु क्षेत्रमा भित्रिएका हुन् । मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेको उनले बताए । सन् २०२१ मा नौ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षको अवधिमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्याङ्क अनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् विदेशी मात्र नभइ पछिल्लो समय आन्तरिक पर्यटक पनि मनास्लु क्षेत्र भ्रमणमा जाने गरेका छन्