त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल

काठमाडौं । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो 

मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो ।

यूएईबाट ओपनर मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए । नेपाली फिल्डरले दुई पटक क्याच छाडेपछि टिकिरहेका कप्तान वासिमले २२ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आर्यान्श शर्माले २६ बल खेली २ चौकासहित २५ रन बनाए 

आसिफ खान ७, अलिशान सराफु १३ रनमा आउट भए । वृत्या आनन्दलाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालको आशा जगाएका थिए । अली नासिरलाई अविनाश बोहराले ९ रनमा बोल्ड गरे । तर बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई विजय दिलाए । विजयी रन छक्काबाट प्रहार गरेका हमिदले १६ बलमा २२ र आयनले ३ बलमा ५ रन बनाए ।

नेपालबाट गुल्शन झा र अविनाशले २/२ विकेट लिए । गुल्शनले ३ ओभरमा १९ र अविनाशले ४ ओभरमा २७ रन खर्चे । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

यसअघि यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सकेको थियो ।

पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो ।