संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासोन्मुख देशको प्रतिनिधित्व हुनेगरी राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार हुनुपर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए ।

विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु,’ गुटेरेसले भने ‘मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशहरूलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ ।’ उनले यस वर्षको संयुक्त राष्ट्र संघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गरेको बताए ।

राष्ट्रसंघमा सबैभन्दा शक्तिशाली रहेको सुरक्षा परिषद्मा भिटो मतसहित अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् भने प्रत्येक २ वर्षमा निर्वाचित हुने १० अस्थायी सदस्य छन् । विश्व शक्तिका रूपमा उदाउदा नयाँ शक्ति राष्ट्रहरुले सुरक्षा परिषदको सुधार हुनुपर्ने माग गर्दै आएका छन् ।

महासचिव गुटेरेसले आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिने र त्यसमा परिवर्तन हुनुपर्ने बताए । उनले आगामी वर्षको भावी राष्ट्रसंघीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्त्वपूर्ण अवसर रहेको बताए।

उनले विश्व बहुध्रुवीयतातर्फ बढेको बताए । ‘यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ,’ उनले भने ‘तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ ।’

उनले बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू नभएका कारण युद्ध भएको बताए । ‘यो युद्धमा पर्‍यो जसले विश्वलाई आफ्नो चपेटमा लियो,’ उनले भने, त्यो हामीले लिन सक्ने जोखिम होइन।