काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् ।
संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे ।
‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने, यो भन्दा ठूलो कुरा केही हुन्न ।
महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको प्रधानमन्त्री दाहालको भनाइ छ । तर नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै उनले असन्तुष्टि जनाए ।
नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ । नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ,’ उनले भने ।
यसैबीच, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव गुटेरेसले नेपाली राष्ट्रको राम्रो मूल्यांकन गरेको बताए ।
महासचिव गुटेरेसले वातावरण र गरिबी निवारणको बारेमा बोलेको उल्लेख गर्दै ओलीले भने, ‘सम्पन्न, धनी देशहरुलाई र संयुक्त राष्ट्रसंघका प्रतिबद्धता र नेपालको सजगताको कुरा गर्नुभएको छ । शान्ति प्रक्रियालाई पीडितमैत्री बनाउने कुरा गर्नुभएको छ ।’
महासचिव गुटेरेसले संघीय संसद्का दुवै सदनको बैठकलाई मंगलबार सम्बोधन गरेका थिए ।