काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र वित्तीय संस्थाहरूको तर्फबाट साइफेमका अध्यक्ष जर्ज फ्राइडेनले हस्ताक्षर गरे । यि वित्तीय संस्थाहरूले नेपालको दिगो विकास,जलवायु परिवर्तन, गरिबी निवारणका लागि सहुलियत दरमा नेपालमा ऋण प्रवाह गर्ने तथा कम्पनीको शेयरहरूमा समेत लगानी गर्दै आएका छन् । पाँच वर्षका लागि संझौतापत्रमा हस्ताक्षर गरिएको छ ।
संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, जलविद्युत, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।