काठमाडौं । भारतीय जलसेनाका आठ भूतपूर्व अधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ । भारतको विदेश मन्त्रालयले उक्त फैसलाबाट भारत सरकार स्तब्ध बनेको र सबै कानुनी विकल्पको खोजी गरिने प्रतिक्रिया दिएको छ । विदेशमन्त्री एस जयशङ्करले ती आठ भारतीयका परिवारसँग सोमवार भेटघाट गरेका थिए।
सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै उनले भनेका छन्, ‘कतारमा हिरासतमा रहेका आठ भारतीय नागरिकका परिवारसँग भेटघाट भयो। यो विषयलाई सरकारले ठूलो महत्त्व दिन्छ भन्ने कुरा बताए, हामी परिवारहरूको चिन्ता र पीडा बुझ्छौँ। सरकारले उनीहरूको मुक्ति निश्चित गर्नका लागि सबै प्रयास जारी राख्ने छ। परिवारसँग त्यसबारे समन्वय गरिने छ।’
सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार भारतीय जलसेनाले ती आठ जनालाई सहयोग उपलब्ध गराउने प्रयास प्रधानमन्त्री कार्यालयमा कार्यरत कूटनीतिक अधिकारी दीपक मित्तलको नेतृत्वमा भइरहेको छ। उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासप्राप्त कूटनीतिज्ञ मानिन्छ। यसअघि उनी कतारमा भारतका राजदूत थिए। कतार सरकारसँग उनको राम्रो सम्बन्ध भएको ठानिएको छ।
मित्तललाई उच्च श्रेणीका वार्ताकार मानिन्छ। सन् २०१९ मा मित्तल द हेगमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा कुलभूषण जाधव मामिलाको सुनवाइका बेला चर्चामा आएका थिए। त्यति बेला उनले वरिष्ठ पाकिस्तानी अधिकारीले हात मिलाउन खोज्दा नमस्ते गरेका थिए। पाकिस्तानी अधिकारीले हात अगाडि सारेको र मित्तले नमस्ते गरेको तस्बिर निकै चर्चित बनेको थियो। सन् २०२० मा मित्तल भारतीय राजदूत बनेर कतार गएका थिए।
मृत्युदण्डको सजाय सुनाइएका आठ जनाले अझै पनि माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्छन्। भारत सरकार पुनरावेदनका लागि सहयोग गरिरहेको छ। पुनरावेदनमा के हुन्छ त्यो हेर्न बाँकी नै छ। जानकारहरूका अनुसार अदालती प्रक्रियाबाट सजाय उल्टिएन भने कतारका अमीरले क्षमादान दिए भने मात्र उनीहरूको जीवनरक्षा हुन सक्छ। आधिकारिक रूपमा कतारले आठ भारतीयमाथि लागेका अभियोगबारे केही भनेको छैन। तर उनीहरूले कतारमा बसेर इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको अनुमान गरिएको छ ।