अमेरिकामा बन्दुकबाट फेरि अर्को नरसंहार, भर्जिनिया बीचमा भएको गोली प्रहारमा झण्डै दर्जनको मृत्यु

न्यूयोर्क
अमेरिकाको भर्जिनिया बीच स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यस्तै छ जना घाइतेलाई अस्पताल पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

भर्जिनिया बीच सिटी कार्यालयको भवन नम्बर दुईमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहार थालेका थिए । प्रहरीको जवाफी कारबाहीमा बन्धुकधारी पनि मारिएका छन् । स्थानीय प्रहरी प्रमुखका अनुसार बन्धुकधारी पब्लिक युटिलिटी वर्करको रुपमा कार्यरत थिए ।

‘आज भर्जिनिया बीचको इतिहासमा सबैभन्दा कहालीलाग्दो दिन हो, नगरका मेयर बबी डेयरले भनेका छन्– हामीले आफ्ना मित्र, सहकर्मी, छिमेकी गुमाउन पुग्यौँ ।’ बन्दुधकारीले कुनै जाती बिशेषलाई निशाना नबनाएको र एकाएक सबैभन्दा गोली बर्षाउन थालेको स्थानीय प्रहरी प्रमुख जेम्स कार्भेराले बताएका छन् । घटनामा बाँच्न सफल धेरैले टेबुलमुनी लुकेर ज्यान जोगाएको बताएका छन् । घाईतेहरुको स्थानिय प्रिन्सेस एनी र नफोर्क जनरल अस्पतालमा उपचार भईरहेको बताईएको छ । एफबिआईले समेत स्थानीय प्रशासनको सहायोगमा घटनाको अनुसन्धान गर्ने जनाएको छ ।

बन्दुधकारीले भवनको तला तलमाथि गर्दै गोली चलाएका थिए । लगत्तै प्रहरीले जवाफी कारबाही सुरु गरेको थियो । प्रहरीसँग बन्दुकधारीको दोहोरो गोली हानाहान समेत भएको थियो ।

आक्रमणकारीले कानुनी प्रकृया पुर्याएर नै फायरआर्म (स्वचालित बन्दुक) खरिद गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोली प्रहार भएको दुई नम्बर भवनमा नगरका धेरै विभागहरु रहेका छन् । अमेरिकामा बिभिन्न कारणले हुने गोली प्रहार अहिले राजनीतिक बृत्तमा पनि सर्वाधिक बहसको बिषय बनेको छ । अमेरिकी संविधानको दोस्रो संसोधनमा नागरिकलाई फायर आर्म खरिद गर्ने अधिकार हुने उल्लेख छ ।

तर, तात्कालिन समय र अहिलेको फायरआर्ममा ठूलो फरक आइ सकेको कारण त्यसमा समय सापेक्ष सुधार हुनु पर्ने तर्क डेमोक्र्याटहरुले गर्दै आएका छन् भने रिपब्लिकनहरु त्यसमा सहमत छैनन् । पछिल्लो समय स्वचालित हतियार मार्फत बेला बेला स्कुलहरुमा हुने गोली प्रहारमा पनि बर्षेनी दर्जनौँ छात्रछात्राको मृत्यु हुने गरेको छ ।