एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरे ।
एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको बताएको छ । यो ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले जानकारी दिए । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्न अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताए । नेपालमा वैदेशिक लगानी भित्राउन यो उपलब्धि कोसेढुङ्गा सावित हुने उनको दाबी छ ।

अध्यक्ष शाहका अनुसार एमच्याम नेपालले सन् २०२४ मा नेपालमा यूएस–नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरेको छ । इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरू सहभागी हुनेछन् । अमेरिकी लगानीमा अहिले नेपालमा ऊर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ ।

एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ । विश्वभर १३० मुलुकमा यूएस च्याम्बर अफ कमर्सका च्याप्टर (एमच्याम)हरु रहेका छन् । जहाँ ३० लाख बढी व्यावसायिक संस्था आवद्ध छन् ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित ऊर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लागानी केन्द्रित गर्नु उपलब्धिमूलक हुने बताए । अमेरिकाका लागि नेपाली राजदूत डा। श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए । कार्यक्रममा एमच्याम नेपालका अध्यक्ष शाहले एम्चामले नेपालमा जनशक्तिको सीप विकाश लगायतमा काम गर्ने योजना रहेको जानकारी दिए ।

अहिले वैदेशिक लगानी मार्फत अमेरिका वा नेपालमा लगानी गरी व्यवसाय सञ्चालन गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यता रहेकोमा त्यसलाई हटाएर एउटा मात्र देशमा कर तिरे पुग्ने व्यवस्थाका लागि एमच्याम नेपालले नीतिगत पहल गरिरहेको शाहले बताए । कार्यक्रममा यूएस डिपार्टमेन्ट अफ स्टेटका नेपालरभुटान डेस्क अफिसर सराह अल्ड्रिच लगायत नेपाल र अमेरिकाका व्यवसायी एवं व्यावसायिक संस्थाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।