विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट

काठमाडौं । भारतले विश्वकप क्रिकेट-२०२३ मा बिहीबार श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो ।

भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे । यस्तै जसप्रित बुमराहको नाममा १ विकेट रह्यो । श्रीलंकाली ब्याटरमध्ये कसुन रजिथाको १४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाका ५ ब्याटर खाता खोल्न असफल रहे र शून्यमै आउट भए ।

श्रीलंकाले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो र यो क्रम लगातार जारी रह्यो । उसले ३ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । त्यसपछि १४ रनमा ६ विकेट भयो भने लगत्तै स्थिति २२ रनमा ७ विकेट भएको थियो ।

त्यस अगाडि श्रीलंकाले टस जितेर भारतलाई पहिले ब्याटिङको निर्णय गरेको थियो । त्यसमा क्रममा भारतले ८ विकेट गुमाएर ३ सय ५७ रनको विशाल स्कोर खडा गरेको थियो । त्यसमा भारतका तीन ब्याटर शतकको नजिक पुगेर चुके । ओपनर शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाए । शुभमनले ११ चौका र २ छक्का प्रहार गरे भने कोहलीको ब्याटबाट ११ चौका निस्केको थियो । यस्तै श्रेयसले ३ चौका र ६ छक्का आफ्नो नाममा लेखाए । भारतले ठूलो स्कोर खडा गरे पनि त्यसमा श्रीलंकाली बलर दिल्सन मदुसन्काले ८० रन खर्चेर ५ विकेट लिए ।

यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यो उसको यसपल्टको विश्वकपमा लगातार सातौं जित पनि हो । यससँगै भारतले दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पनि पुग्यो । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रह्यो ।